भेटियो खशोग्गीको शव, दूतावासभित्रै मारिएको पुष्टि हुने पर्याप्त आधार

इस्तानबुल, कार्तिक ६ । टर्कीस्थित साउदी अरेबियाली दूतावासबाट बेपत्ता रहेका पत्रकार जमाल खाशोग्गीको शव भेटिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खाशोगीको शव टुक्रा पारिएको अवस्थामा भेटिएको र उनको अनुहार पहिचान गर्न नसकिने अवस्थामा रहेको छ ।

खशोग्गीको शव साउदीका वाणिज्य दुत बस्ने निवासको बगैँचामा भेटिएको बताइएको छ । टर्कीका राष्ट्रपति रेसिप तइप एर्डोगनले खशोग्गीको शव नभेटिए हत्याको वास्तविकता बाहिर ल्याउने चेतावनी दिएको केही समयपछि नै उनको शव भेटिएको हो । एर्डोगनले सांसदसँगको छलफलमा औपचारिक रुपमा नै हत्या भएको स्वीकार गरिसक्दा पनि किन शव नभेटिएको भन्दै आपत्ति जनाएका थिए ।

उनको हत्या आरोपीहरुले उनलाई यातना दिएर हत्या गरेको अडियो रेकर्ड समेत आफूसँग भएको भन्दै उनले तत्काल शव सार्वजनिक गर्न माग गरेका थिए ।

पत्रकार जमाल खशोग्गी अक्टोबर २ मा वाणिज्य दूतावास गएदेखि वेपत्ता भएका थिए । उनी वेपत्ता भएदेखि नै हत्या भएको अनुमान गरिएको थियो ।

साउदीले खशोग्गीको मृत्यु इस्तानबुलस्थित आफ्नै वाणिज्य दूतावासभित्र भएको समाचारहरु गलत रहेको बताए पनि केही दिनअघि स्वीकार गरेको थियो । साउदीले खशोग्गी र केही मानिसबीच वाणिज्य दूतावासभित्र झगडामा परेर उनको मृत्यु भएको जनाउँदै आएको थियो ।

टर्कीले भने सुरुदेखि नै साउदी सरकार र त्यहाँको गुप्तचर संयन्त्रको प्रत्यक्ष संलग्नतामा पत्रकार खशोग्ग्गीको हत्या गरिएको र उनको शवलाई चिन्न नसक्ने गरेर टुक्राटुक्रा पारिएको आशंका व्यक्त गर्दै आइरहेको छ ।

उता यस घटनापछि साउदीका पश्चिमा साझेदारहरूले उससँग दूरी बनाउन थालेका छन ।

को थिए खशोग्गी ?

जमाल खशोग्गी पश्चिममा शिक्षा प्राप्त गरेका चर्चित पत्रकार हुन्, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे।

तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे।

आफ्नो पहिलो स्तम्भमा खशोग्गीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।

बेपत्ता हुनु तीन दिनघि बीबीसीको न्यूजआवर कार्यक्रममा उनले भनेका थिए, “विरोधी हुँदैमा मानिसहरू गिरफ्तार भइरहेका छैनन्, स्वतन्त्र विचार राख्नेहरू पनि गिरफ्तार गरिँदैछन्।”

उनको परिवार साउदी अरबमा निकै प्रतिष्ठित रहेको छ । ब्रिटिश युवराज्ञी डायनाका प्रेमी डोडी अलफायदकी आमाका माइती पनि खशोग्गीहरू थिए । उनीहरू तेल र हतियारको व्यापारमा संलग्न रहेका छन् ।

 

एजेन्सीहरू

 

कमेन्ट गर्नुहोस्