विश्वका घुम्नै पर्ने सहरमध्ये पाँचौंमा काठमाडौँ

काठमाडौँ, कार्तिक ६ । ट्राभल साइट लोन्ली प्लानेटले विश्वका घुम्नै पर्ने दस सहरहरू मध्ये पाँचौं नम्बरमा काठमाडौँलाई समावेश गरेको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा लोन्ली प्लानेटको यो घोषणालाई निकै महत्वका साथ हेरिएको छ ।

लोन्ली प्लानेटले पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोवि साड, चौथोमा अमेरिकाको मिआमी र पाचौँमा नेपालको राजधानी काठमाडौँलाई राखेको छ । त्यसपछि क्रमश: मेक्सीकोको मेक्सीको सिटी, सेनेगलको डकार, अमेरिकाको सियाटल, क्रोएसिया जदर  मोरक्कोको मेक्नेसलार्इ राखेको छ ।

सन् २०१५ मा गएको महाभूकम्पले क्षतविक्षत बनेको काठमाडौँ पूननिर्माणपछि अहिले कायपलट भइरहेको उक्त साइटमा उल्लेख गरिएको छ । ‘भूकम्पका बेलामा महत्वपूर्ण पुरात्वत्तिक सम्पदाहरु भत्किएर क्षति भएपनि अहिले पुनर्निर्माणका कामहरु चलिरहेका छन् र ती ऐतिहासिक सम्पदाले पुनर्जीवन प्राप्त गर्दैछन्’ लोन्ली प्लानेटले थप लेखेको छ ‘बढ्दो ट्राफिक जाम, धुँवा धुलो र ध्वनी प्रदुषणबाट मुक्त भएर अहिले काठमाडौँ दशकभन्दा पहिलेको तुलनामा निकै बस्न योग्य भएको छ ।’

लोन्ली प्लानेटमा काठडमाडौँमा घुम्नै पर्ने विभिन्न स्थानहरु पनि राखिएका छन् । जसमा पुरानो काठमाडौँ अर्थात हनुमान ढोका, इतुम्बहाल, गार्डेन अफ ड्रिम्स, असन टोल, इन्द्र चोक, दरबार स्क्वायर र नासल चोक रहेका छन् । उल्लेखित स्थान घुम्नका लागि भने ट्राफिक जामले दुख दिने भएकोले रिक्साको प्रयोग गर्न सुझाइएको छ ।

त्यसपछि कुमारी बहाल, स्वयम्भूनाथ, सेतो मच्छिन्द्रनाथ आदि स्थान पनि काठमाडौँका मुख्य आकर्षणका रुपमा राखिएका छन् ।

 

कमेन्ट गर्नुहोस्