काठमाडौं, कार्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । आइतबार र सोमबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति, वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा राखेको असहमतिपत्रको एजेन्डामा निर्णय गरेको थियो ।
सचिवालय बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन एजेन्डा प्रस्तावित छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बोलाइएको बैठकमा पार्टी एकताको एजेन्डामा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेपाल–श्रेष्ठको ‘नोट अफ डिसेन्ट’ स्थायी समितिमा
सोमबारको बैठकमा प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्धी निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका थिए ।
उनीहरूले राखेको असहमतिबारे स्थायी समितिमा पनि छलफल गर्नेगरी बैठकले प्रदेश नेतृत्व चयनसम्बन्धी ५ असोजमा बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्ने सोमबारको बैठकले निर्णय गरेको थियो । १२ र १३ कात्तिकमा नेकपाले स्थायी समिति बैठक बोलाएको छ । नयाँ पत्रिकामा खबर छ ।