सडक सञ्जालमा जोडियो डोल्पा सदरमुकाम

दुनै, कार्तिक ७ ।  कर्णाली प्रदेशको विकट हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैलाई पनि सडक सञ्जालमा जोडिएको छ । ट्र्याक खुलेपछि मोटरसाइकल चल्न थालेका छन् भने तिहारलगत्तै दुनैसम्म गाडी पुग्ने भएको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको जाजरकोट–डोल्पा सडकको १६ असोजमा ट्र्याक खुलेको हो । त्यसयता मोटरसाइकलसहितका साना सवारीसाधन सदरमुकाम दुनैसम्म गुड्न थालेका छन् ।

कुनैवेला पूर्णरूपमा खच्चडमा निर्भर डोल्पाली आजभोलि नै मोटरसाइकल कुदेको देख्न पाउँदा खुसीले दंग छन् । ‘पहिले गच्चडको घन्टीको आवाज सुनिन्थ्यो, अहिले मोटरसाइकलको हर्नको आवाज सुनिन्छ,’ स्थानीय कालुप्रसाद हमालले उत्साहित हुँदै भने, ‘अब खुट्टा र थाप्लोको भार हट्नेछ ।’

त्रिपुराकोटस्थित घरनजिकबाटै मोटरसाइकल ओहोरदोहोर गरेको देख्दा हमाल दंग पर्ने गरेका छन् । उनी घरबाट हिँडेर नेपालगन्ज पुगेको सम्झिन्छन् । ‘दश दिनमा नेपालगन्ज पुगेको हिजोजस्तै लाग्छ, अब दुई दिनमै गाडीमा नेपालगन्ज पुगिने भएको छ,’ उनले भने । सडकले जोडिएपछि सबैभन्दा बढी खुसी भएको हमालको भनाइ छ ।

हुन पनि ट्र्याक खुलेसँगै दुनैसम्म मोटरसाइकल हुइँकिन थालेका छन् । सुर्खेत, नेपालगन्जतिर बस्दै आएका यहाँका बासिन्दा मोटरसाइकलमै दुनै पुग्ने गरेका छन् । खच्चरमा भन्दा ढुवानी खर्च कम लाग्ने भएपछि स्थानीय व्यापारी पनि मोटरसाइकलमै सामान ढुवानी गरिरहेका छन् । यससँगै डोल्पामा कार्यरत कर्मचारी पनि मोटरसाइकलमै हुइँकिन थालेका छन् ।

तिहारपछि सदरमुकामसम्मै गाडी
डोल्पालाई सडक सञ्जालमा जोड्न जाजरकोटको पासगाडबाट सडक बनाउन थालिएको थियो । जाजरकोट–डोल्पा एक सय १७ किलोमिटरमध्ये एक सय १४ किलोमिटर सडक गत चैतमै निर्माण भएको थियो । त्यस सडकमा यातायातका साधन सञ्चालनमा छन् ।

दुनैबाट त्रिपुराकोटसम्म सडक निर्माण भइसकेको छ । जाजरकोटको पासगाडबाट खदाङसम्म पनि सहज रूपमा यातायात सञ्चालनमा छ । त्रिपुराकोट र खदाङबीचको तीन किलोमिटर सडकमा ठूला–ठूला भिरका कारण समस्या भएको थियो । अहिले सेनाले सो सडकखण्डमा पनि ट्र्याक खोलिसकेको छ ।

ट्र्याक खुलेसँगै मोटरसाइकल चल्न थालेका छन् भने तिहारपछि गाडी चल्न सक्ने हुने सेनाले जनाएको छ । ‘अहिले मोटरसाइकल मात्रै चलिरहेका छन्, तिहारपछि गाडी चल्ने हुन्छ । हामी यो सडकको औपचारिक उद्घाटनको नजिक पुगेका छौँ,’ नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले भने ।

सस्तियो उपभोग्य सामान
जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलेसँगै उपभोग्य वस्तु सस्तिएपछि स्थानीय बासिन्दा दंग परेका छन् । ‘मोटरसाइकल चलेपछि केही दिनमै सस्तो भएको छ, गाडी गुड्न थालेपछि झन् सहज होला,’ स्थानीय बासिन्दा तुलबहादुर बोहराले भने ।

यसअघि दैनिक उपभोग्य सामग्री ढुवानीका लागि रुकुमको चौरहजारी, राडीज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लुबगरलगायतका बजार पुग्ने बाध्यता थियो । ‘घोडा, खच्चड, याक लिएर सामान ढुवानी गर्न जानुपथ्र्यो, अहिले यहीँ पुग्न थालेको छ,’ खच्चड व्यवसायी खम्बलाल कठायतले भने । कैयौँ दिन लगाएर दर्जनौँ खच्चडले बोक्ने सामान एउटै ट्रयाक्टरले एक दिनमै ल्याउन थालेपछि सस्तिएको उनको भनाइ छ । ‘अब डोल्पाका दुःखका दिन सकिए,’ कठायतले भने ।

यससँगै दैनिक उपभोग्य सामग्रीको सहज आपूर्ति हुन थालेको छ । व्यापारीले पनि ढुवानीको बहानामा सामान महँगो बनाउने समय सकिएको त्रिपुराकोट बजार व्यवस्थापन समितिका अध्यक्ष पूर्णकेशर न्यौपानेले बताए । ‘ढुवानीको असहजता देखाउँदै चौगुणा मूल्य उठाउँदै आएका व्यापारीहरूले पनि सामानको मूल्य घटाएका छन्,’ अध्यक्ष न्यौपानेले भने ।

नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्