खशोग्गीका हत्यारालाई नछाडिने- साउदी अरब, टर्कीको आरोप हत्या नियोजित

रियाद, कार्तिक ६ । साउदी अरबले पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने जनाएको छ ।

मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।”

राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।”

याे पनि पढ्नुस  साउदीको विश्वविद्यालयले महिला ड्राइभिङ स्कुल खोल्ने

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।

हत्या नियोजित भएको टर्कीको आरोप

उता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  रोजगारीका लागि साउदी पुगेका ५ नेपाली अलपत्र

उन ले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको समेत दावी गरे ।

राष्ट्रपति रेसेपले खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संभावनालाई खण्डन गर्दै उक्त घटनाका सँदिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गरे ।

उनले खशोग्जीको शव कहाँ छ र उनको ज्यानलिने गरी भएको कार्वाहीको आदेश कसले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ साउदी अरबबाट आउनुपर्ने जिकिर गरेका छन् ।

याे पनि पढ्नुस  दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

यद्यपि साउदी अरबले पत्रकारको मृत्यु वाणिज्यदूतावासभित्र भएको पिटापिटका क्रममा भएको बताएकोे छ । उसले युवराज मोहम्मद बिन सलमानको निर्देशन विना सक्रिय एजेन्टहरूलाई त्यसका लागि दोष दिएको छ ।

वाशिंगटन पोस्ट पत्रिकाका स्तम्भकारको हत्याका निन्दा गर्दै विश्वभरीबाट घटनाका सम्बन्धमा पूर्ण अनुसन्धानको माग भइरहेको छ ।

कमेन्ट गर्नुहोस्