उदयपुरमा परिवारै मिलेर ७५ वर्षीया बृद्धालाई मलमुत्र खुवाईयो

उदयपुर, कार्तिक ७ ।

उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ । छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरको उदयपुरगडी गाउँपालिका वडा नं.५ मौवासीकी ७५ वर्षीय महिलालाई मलमुत्र खुवाएको हो ।

गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको निवेदन जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । छाडा पशुले बाली खाएको विवादमा मंगलबार राति छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र छोरा देवबहादुर राईले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुर्मीले बताए ।

प्रहरी निरीक्षक कुर्मीका अनुसार जिउभरि नै दिशा लिएर जिल्ला प्रहरी कार्यालय आइपुगेकी वृद्धाको छिमेकीको कुटाईबाट दाहिने आँखामा गम्भीर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडाम रहेको छ । वृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिमेकीले दिनहँु जसो आफ्नो बारीमा छाडा गाईवस्तु छोड्ने र लगाएको बालिनाली नाश गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमुत्र खुवाईएको वृद्धाले बताईन ।

कमेन्ट गर्नुहोस्