कांग्रेसका नेताकाे लेक लागेर मृत्यु

बेँसीशहर, कात्तिक ७ ।

चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको बुधबार मृत्यु भएको छ ।

मनाङको तिलिचो ताल घुम्न गएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति रहेका छन् ।

तिलिचो तालमा पुगेर फर्कने क्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । पोखराबाट यही कात्तिक ४ गते बिहान ७ जना साथीका साथमा अधिकारी मनाङको यात्रामा निस्केका थिए ।

तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि बुधबार बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । गण्डकी अस्पताल पोखरामा परीक्षणका लागि अधिकारीको शव लगिएको बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्