खानेपानी मन्त्रीद्वारा ७ वटै प्रदेशमा छानबीन समिति गठन

काठमाडौं, ७ कार्तिक । खानेपानी मन्त्रालयले बजेट रकमान्तरका बारेमा छानविन गर्न सात वटै प्रदेशमा छानवीन समिति गठन गरेको छ ।

खानेपानी मन्त्रीकाे निर्देशनपछि बुधबार दिउँसो खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानविन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा सार्वजनिक भएका विषयबारे सत्यतथ्य बुझेर १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन दिएको छ ।

अनुगमनमा टोलीमा प्रदेश नं. १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश नं. २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश नं. ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, प्रदेश नं. ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन् ।

त्यसैगरी प्रदेश नं. ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश नं. ६ मा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र प्रदेश नं. ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन् । अनुगमन टोलीले रकमान्तरका विषयमा अध्ययन र छानविन गर्नेछ ।

बुधबार सञ्चार माध्यममा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुमा रकमान्तर भएको रकम दुरुपयाेग भन्ने अाशयका समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक आब्हान गरेकाे थियाे । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा बसेको बैठकले यथार्थ बिवरण आएपछि थप निर्णय लिने जनाएको छ ।

मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानविन टोली गठन गर्न खानेपानी मन्त्री बिना मगरले सचिव ठाकुरलाई निर्देशन दिएकी थिइन् । रकमान्तरबारे थप रिपोर्ट आएपछि पुन बैठक बसेर आवश्यक कार्वाही गर्ने सचिव ठाकुरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्