जय भाेलेकाे सफलतापछि ‘रातो टिका निधारमा’ ल्याउँदै निर्देशक शर्मा

पहिलो सातामै ‘जय भोले’ ले कमायो तीन करोड

काठमाडौं, कार्तिक ८ ।

निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ नेपाली कथानक चलचित्र ‘रातो टिका निधारमा’ निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रम गर्दै उनले सो चलचित्र बनाउने घोषणा गरेका हुन् ।

अघिल्लो साता अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ले दोस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको खुशीयालीमा उनले यो चलचित्र घोषणा गरेका हुन् ।

कार्यक्रममा शर्माले ‘जय भोले’ नाफामा गइसकेको दाबी गर्दै सोमबारसम्मको चलचित्रको व्यवसायले आफु नाफामा जान सफल भएको बताए । उनका अनुसार सोमबारसम्म चलचित्रले ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

चलचित्रले पहिलो साताझै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको शर्माले बताए । ‘अबको व्यवसाय सबै नाफा हो’ उनले भने । करिब एक करोड ३५ लाखमा निर्माण भएको ‘जय भोले’ यसपालिको दशैं ‘जय भोले’ सँगै भन्ने नारा सहित रिलिज भएको थियो ।

चलचित्रको व्यवसाय दिन प्रतिदिन बढिरहेको शर्माले सुनाए । उनले अगाडि थपे– ‘छक्का पन्जा ३’ सँग ‘जय भोले’ जुधाउन पाएको भए झन् व्यवसाय हुने रहेछ ।’ पहिलो र दोस्रो दिन ठिकठिकै व्यवसाय गरेको चलचित्र ‘छक्का पन्जा ३’ को व्यवसाय दर्शकको राम्रो प्रतिक्रिया पछि बढेको उनको बुझाइ रहेको छ ।

पहिलो साताभन्दा यो साता चलचित्रका लागि केही हल समेत थपिएको बताएका शर्माले वर्षौ पहिले आफुले बनाएको राम्रो चलचित्रका कारण पनि ‘जय भोले’ हेर्न दर्शक हलसम्म आएको उनले सुनाए । राजनराज शिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

‘जय भोले’ र ‘छक्का पन्जा ३’ दुवैमा अभिनय गरेका कलाकार बुद्धि तामाङले कार्यक्रममा दुबै चलचित्र सफल हुँदा निकै खुसी लागेको बताए । उनले दुवै चलचित्रको प्रचारप्रसारको लछारोले आफुलाई जरो निकालेको सुनाए ।

चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरवीर पण्डितलगायत मुख्य भूमिकामा रहेका छन् ।

घोषणा गरिएको चलचित्र ‘रातो टिका निधारमा’ फागुनबाट फ्लोरमा निस्किने छ ।

चलचित्रका लागि बुद्धि तामाङ बाहेकका कलाकार फाइनल हुन बाँकी रहेका छन् ।

चलचित्रको बाँकी कलाकार विषयबस्तु छायाँकनमा जानुपूर्व आयोजना गर्ने कार्यक्रममा जानकारी दिने निर्देशक शर्माले बताए ।

कमेन्ट गर्नुहोस्