ओम शान्तिमा योगदान पुऱ्याउने दम्पतीलाई अभिनन्दन

धनगढी, कार्तिक ८ ।

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय धनगढीले संस्थामा योगदान पुऱ्याएका ७ युगल जोडीलाई बिहीबार अभिनन्दन गरेको छ ।

संस्थामा लागेर निरन्तर २० वर्षदेखि सहयोग गरेका दम्पतीलाई अभिनन्दन गरेको हो । बिहीबार अभिनन्दन गरिएका दम्पतीहरुलाई यसअघि माउन्ट आबु भारतमा समेत सम्मान गरिएको आयोजकले बताएका छन् ।

अभिनन्दन कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद टेकबहादुर रैकाले पवित्र कार्यमा लागेर समाजमा योगदान पुर्याएका दम्पतीहरुको भावी दिनको समेत सफलताको शुभकामना दिए । उनले भने, ओम शान्तिमा लागेकाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताए ।

धनगढी उपमहानगरपालीकाकाप्रमुख नृपबहादुर वडले ओम शान्तिमा लागेका अभियन्ताहरुलाई आफू बसेको टोल र समाजका लागि केही समय खर्च गरिदिन आग्रह गरे । उनले भने, यहाँहरु बसेको समाज स्वभावतः सभ्य, शान्त देखिन्छ अब ओम शान्ति भवनमा जस्तै समुदाय तहमा पनि गतिविधी गरिदिन म आग्रह गर्दछु । कानून व्यवसायी वीरबहादुर जेठाराले समाजमा रहेका विकृती विसंगती न्यूनीकरण गर्ने माध्यम नै अध्यात्मिक मार्ग भएको बताए ।

अभिनन्दन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर समाजमा योगदान पुर्याएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्