उहाँका सपना पूरा गर्न प्रतिवद्ध छु : देउवा

काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता चक्रप्रसाद बास्तोलाको सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

बास्तोलाको निधनको १३ औं दिनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शोकसभामा उनले भने, ‘उहाँले छोडेर गएका काम हामीले पूरा गर्नुपर्छ, त्यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

सभापति देउवाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन स्वर्गीय नेता बास्तोलाको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बास्तोलालाई कहिल्यै नथाक्ने नेताको रुपमा चित्रण गरे । ‘माओवादीलाई वार्तामा ल्याउन प्रचण्ड–बाबुरामलाई भेटेर उहाँले कन्भिन्स गर्नुभयो’, देउवाले अगाडि थपे, ‘शान्ति प्रक्रियामा आउँदा महत्वपूर्ण योगदान गर्नुभयो ।’

स्वर्गीय नेता बास्तोलाका छोरी सुम्निमा र गरिमाले कांग्रेस अप्ठेरो अवस्थामा रहेको भन्दै पार्टी सुधार्न नेतृत्वलाई आग्रह गरे । शोकसभामा उनीहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउने बुबाको सपना पूरा गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे ।

विगत ६ वर्षदेखि अचेत अवस्थामा रहेका नेता बास्तोलाको गत असोज २४ गते निधन भएको हो । शोकसभालाई कांग्रेसका शिर्ष नेताले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्