दशैंको बेला उपत्यकामा सवारी दुर्घटनाबाट १४ को मृत्यु

काठमाडौँ, कार्तिक ८ ।

काठमाडौँ उपत्यकामा दशैंको बेलामा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदल यात्रुको मृत्यु भएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले तीव्रगतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिए । ‘दशैँको समयमा सडक धेरै खाली हुने र तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिले धेरै दुर्घटना हुने गरेको छ,’ उनले भने ।

दशैंअघि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक र्‍यापिड स्कोइड’ अभियान समेत सञ्चालनमा ल्याएको थियो । अभियानले दुर्घटना भएको ५ मिनेटभित्रै घटनास्थलमा पुगेर घटना बारेमा अध्ययन गर्नाका साथै घाइतेलाई तत्काल अस्पतालसम्म लैजान सकिने व्यवस्था गरेको थियो । अभियानका लागि महाशाखाले ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरेको थियो ।

हाल देशभर झण्डै ३२ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा भएपनि काठमाडौँ उपत्यकामा मात्र ८ लाख सवारी साधन सञ्चालनमा छन् । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्