अष्ट्रेलियाका सबै शहरमा नेपाल महोत्सव शुरु

अष्ट्रेलिया, कार्तिक ८ ।

अष्ट्रेलिया प्रत्येक २ वर्षमा नेपालको पर्यटन, कला संस्कृति र परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने नेपाल महोत्सवको तयारी अष्ट्रेलियाको सबै शहरमा शुरु भएको छ ।

‘एक देश कथा अनेक’ लोगो राखेर गैर आवासीय नेपालीहरुको संगठन एनआरएनएले आयोजना गर्ने महोत्सवको तयारी अष्ट्रेलियाका सबै शहरमा शुरु भएको हो । महोत्सवले नेपालको पर्यटकीय क्षेत्र, कला संस्कृति, परम्परा र नेपालको बारेमा वास्तविक जानकारी दिने गरेको छ ।

आयोजक संस्था एनआरएनका महासचिव नारायण कोइरालाका अनुसार महोत्सवलाई नेपालमय बनाउने उद्देश्यका साथ यसवर्ष तयारी शुरु गरिएको हो । उनका अनुसार यसवर्षको नेपाल महोत्सव सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन, क्यानबेरा, लगायतका शहरमा आयोजना हुनेछ ।

महोत्सवमा नेपालको परम्परागत, पर्यटकीय र सांस्कृतिक परिचय दिने उद्देश्यले नेपाल हाउसको स्थापना गरिने छ भने अष्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिने उद्देश्यका साथ पर्यटन स्टलको समेत अलग व्यवस्था गरिने छ । आयोजकहरुले यसवर्ष न्यूनतम २० प्रतिशत विदेशीहरुको सहभागिता हुने अपेक्षा राखेका छन् ।

‘हाम्रो मुख्य उद्देश्य नै नेपालको बारेमा जानकारी दिने र नेपाल घुम्नलाई प्रेरित गर्ने नै हो ।’ आयोजक एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए । प्रत्येक राज्यहरुमा आयोजना गरिने नेपाल महोत्सव ब्रिसबनमा नोभेम्बर १७, सिड्नीमा नोभेम्बर २४, मेलबर्नमा डिसेम्बर १५ र एडिलेडमा अप्रिलको १४ तारिख आयोजना हुँदैछ ।

यसवर्ष यहाँ रहेका विदेशीहरुलाई अष्ट्रेलियामा रहेका नेपालीहरुको ब्यवसायिक क्षेत्रहरुको बारेमा विस्तृत जानकारी दिइने छ भने उनीहरुलाई नेपाल घुम्नका लागि केही सहयोग र सल्लाह आवश्यक भए महोत्सवपछि पनि उक्त सेवा प्रदान गरिने छ ।

महोत्सवमा नेपाली गीत संगीतको मनोरञ्जन दिने उद्देश्यले गायकहरु राजेश पायल राई, विश्व नेपाली, तृष्णा गुरुङ लगायतका गायक गायिकाहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । यसका साथै नेपाली भेषभुषामा फेसन परेड, प्रत्येक शहरमा नेपाली झण्डा र पोशाक सहित नेपाल परेड र नेपाली खानाहरुको समेत स्टल राखिने छ ।

महोत्सवमा १ लाख बढीको सहभागिता हुने आयोजकले विश्वास लिएको छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्