यस्तो छ प्रचण्डले सम्बाेधन गर्ने इण्डिया फाउण्डेसनको कार्यक्रम

काठमाडौं । क्षेत्रीय तथा वैश्विक मुद्दाहरुमा उच्चस्तरीय छलफल चलाउँदै आएको इण्डिया फाउण्डेसनको यो वर्षको सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् ।

अध्यक्ष प्रचण्डले तीनदिनसम्म चल्ने सम्मेलनको मूल उद्घाटन समारोहमा प्रमुख अतिथिकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रचण्डसहित उद्योग, वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु तथा राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले सम्बोधन गर्ने कार्यक्रम छ ।

इण्डिया फाउण्डेसनले यसवर्षको मुख्य नारा “नागरिकको घोषणापत्र– विचारहरुको मन्थन” भन्ने रहेको छ । कार्यक्रम भोली अक्टुबर २६ देखि २६ अक्टोबर सम्म चल्ने बताइएको छ । तर, अध्यक्ष प्रचण्ड भने भाेलि नै उद्घाटन कार्यक्रमलार्इ सम्बाेधन गरि भाेलि नै स्वदेश फर्कने कार्यक्रम छ ।

इण्डिया आइडिया कन्क्लेभ नाम दिइएको सम्मेलनमा राजनीति, मिडिया, आर्थिक तथा सामाजिक क्षेत्रका चार सय भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रित गरेको आयोजकले जनाएका छन् ।

यसमा सरकारी तथा व्यापार क्षेत्रका नेताहरु, बौद्धिक व्यक्तित्व, पत्रकार, सामाजिक अभियन्तालगायतका रहेका छन् ।

यसअघि चारवटा वार्षिक कन्क्लेभ सम्पन्न गरिसकेको इण्डिया फाउण्डेसनको कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले समेत सम्बोधन गरिसकेका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउबाले सन् २०१६ को सम्मेलनमा सम्बोधन गरेका थिए ।

इण्डिया फाउण्डेसनले बिभिन्न आर्थिक,सामाजिक तथा राजनीतिक मुद्दामा स्वतन्त्र अनुसन्धान र पैरवी गर्दै आएको छ ।

 

उद्घाटन समारोह भारतीय समय अनुसार साँझ पाँचदेखि साढे ६ बजेसम्म चल्ने छ । साँझ साढे ६ बजेदेखि सात बजेर १५ मिनेटसम्म सुरेश भैयाजी जोशीको विशेष प्रवचन रहेको छ ।

सोही दिन साँझ सम्बोधनको कार्यक्रमपछि इण्डिया फाउण्डेसन स्वराज्य अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको दोश्रो दिन बिहान साढे आठ बजे नागरिक मुद्दा र मिडिया विषयमा छलफल चल्ने छ । यसैगरी सोही दिन राष्ट्रिय एकताका एजेण्डा, अटल बिहारी मेमोरियल प्रवचन, समावेशी आर्थिक समृद्धिका मुद्धाहरु, सामाजिक समवितरणका मुद्दाहरु, सुशासनका मुद्दाहरु, न्यायप्रणाली र नागरिक मुद्दा, व्यवसायिकता र सुशासन, जवाफदेहिताको राजनीतिलगायतका बिभिन्न विषयमा समानान्तर कार्यशाला सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रमको तेश्रो दिन शान्तिका एजेण्डा विषयमा विशेष छलफल हुने बताइएको छ ।

अध्यक्ष प्रचण्डले भने विश्व परिवेशका कैयन् मुद्दाहरुमा चर्चा गर्दै दक्षिण एशियाली देशहरुबीच आर्थिक समृद्धि तथा सम्मानजनक सन्तुलित सम्बन्धमा जोड दिएर सम्बोधन गर्ने बताइन्छ । भारत र चीन जस्ता ठूला देशहरुबीच सन्तुलित आर्थिक सम्बन्धको विकास, वान बेल्ट वान रोड र नेपालको राजनीतिक परिवर्तनपछिको अवस्थाबारे उनले चर्चा गर्ने देखिन्छ ।

प्रचण्डले यसअघि पनि भारतीय बुद्धिजीविमाझ नेपालले अघि सारेका समाजवादोन्मुख आर्थिक समृद्धि र दक्षिण एशियाली राजनीतिका बारेमा सम्बोधन गरेका थिए ।

फाउण्डेसनले यसअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा गत अप्रिल ७ तारिखका दिन नागरिक रिसेस्पसनको आयोजना गरेको थियो ।

प्रचण्डले सन् २०१६ मा भारत र नेपालबीच व्यापारसम्बन्धका बारेमा सोही फाउण्डेसनले नेपाली संस्थाहरुसँग संयुक्तरुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमा समेत सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्