नेकपाले गऱ्यो विशेष कार्यदल गठन, महासचिव पौडेल र नेता बादल सम्मिलित कार्यदलमा के छ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न कार्य दल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टीको सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको हो ।

उक्त कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका छन् । महासचिव पौडेलले उक्त कार्यदलले निश्चित मापदण्डका आधारमा प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको जानकारी दिएका छन् । यस अघि नै सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरिसकेको छ ।

प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्धी सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्य दल नै गठन गरेको हो ।

कार्य दलले पेश गरेको प्रस्ताव सचिवालय बैठकमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्