खशोग्गी प्रकरण: साउदीले स्वीकाऱ्यो; हत्या नियोजित थियो

रियाध, कार्तिक ८ । साउदी अरबले पत्रकार जमाल खशोग्गीको हत्या पूर्व नियोजित रहेको स्वीकार गरेको छ । सरकारी मिडिया साउदी प्रेस एजेन्सीले बिहिबार यस्तो जानकारी दिएको हो ।

साउदी अरबका सरकारी वकिलले टर्कीका अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार पत्रकार खशोग्गीको इस्तानबुलमा भएको हत्याको मामिलामा संन्दिग्धहरूको गतिविधिबाट यो हत्या पहिलेदेखि नियोजित रहेको खुल्न आएको बताएको एजेन्सीले जानकारी दिएको छ । खशोग्गी साउदी सरकारका प्रमुख विरोधी थिए ।

भिडियोबाट खुल्यो पोल

यसअघि साउदी सरकारले २ अक्टोबरमा खशोग्गी इस्तानबुलस्थित साउदी दूतावास आएको तर त्यसपछि बिना रोकटोक त्यहाँबाट निस्किएको दाबी गर्दै आइरहेको थियो ।

तर त्यसपछि सार्वजनिक भएको एउटा भिडियोमा खशोग्गीको लुगामा उनकै कदकाठीका एकजना अर्कै मानिस दूतावास बाहिर आएको देखिए पछि विश्व समुदायले साउदी सरकारलाई घेराबन्दीमा पारेको थियो ।

टर्कीले सुरुदेखि नै पत्रकार खशोग्गीको हत्या दूतावास भित्रै भैसकेको र सबैलाई झुक्याउन उनको जस्तै देखिने अर्कै मानिसलाई उनको लुगामा बाहिर निस्किन लगाएको आरोप लगाउँदै आएको थियो ।

साउदी सरकारको बच्ने प्रयत्न

सुरुमा साउदीले यस मामिलामा आफ्नो अनभिज्ञता व्यक्त गर्दै आइरहेको थियो । तर टर्कीले बारम्बार उक्त घटनाको अडियो आफूसँग सुरक्षित रहेको र साउदी सरकाले गल्ती नस्वीकारे उक्त अडियो सार्वजनिक गरिदिने चेतावनी दिएपछि उसले खशोग्गीको हत्या भैसकेको स्वीकार गरेको थियो ।

साउदी सरकारले खशोग्गीलाई स्वदेश फर्किन आग्रह गर्न भनेर एउटा विशेष टोली इस्तानबुल गएको र कुरा कुरामा विवाद हुँदा भूलवश खशोग्गीको मृत्यु भएको स्वीकार गरेको थियो ।

तर अमेरिका लगायत युरोपेली नेताहरूले साउदी सरकारको यस तर्कलाई सुरुदेखि नै अस्विकार गर्दै आइरहेका थिए । यसैबीच टर्कीका राष्ट्रपति रेजेप तैयब एर्दोआनले यस मामिलामा विस्तृत जानकारी सार्वजनिक गर्ने वचन दिएका थिए ।

टर्कीका जाँच अधिकारीहरूले २ अक्टोबरका दिन खशोग्गी साउदी दूतावास प्रवेश गर्नासाथ १५ जना साउदी एजेन्टहरूले उनको हत्या गरेर उनको शरीरलाई ससाना टुक्रा पारिदिएको आरोप लगाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्