प्रचण्ड आज भारत जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड भारतको नयाँ दिल्ली जाँदै छन् । क्षेत्रीय तथा वैश्विक मुद्दाहरुमा उच्चस्तरीय छलफल चलाउँदै आएको इण्डिया फाउण्डेसनको यो वर्षको सम्मेलनमा भाग लिन प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

 

अध्यक्ष प्रचण्डले तीनदिनसम्म चल्ने सम्मेलनको मूल उद्घाटन समारोहमा प्रमुख अतिथिकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन कार्यक्रममा प्रचण्डसहित उद्योग, वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु तथा राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

इण्डिया फाउण्डेसनले यसवर्षको मुख्य नारा ‘नागरिकको घोषणापत्र– विचारहरुको मन्थन’ भन्ने रहेको छ । कार्यक्रम अक्टुबर २६ देखि २६ अक्टोबर सम्म चल्ने बताइएको छ । तर, अध्यक्ष प्रचण्ड भने आज नै उद्घाटन कार्यक्रमलार्इ सम्बोधन गरि आज नै स्वदेश फर्कने कार्यक्रम छ ।

 

इण्डिया आइडिया कन्क्लेभ नाम दिइएको सम्मेलनमा राजनीति, मिडिया, आर्थिक तथा सामाजिक क्षेत्रका चार सय भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रित गरेको आयोजकले जनाएका छन् । यसमा सरकारी तथा व्यापार क्षेत्रका नेताहरु, बौद्धिक व्यक्तित्व, पत्रकार, सामाजिक अभियन्तालगायतका रहेका छन् ।

 

यसअघि चारवटा वार्षिक कन्क्लेभ सम्पन्न गरिसकेको इण्डिया फाउण्डेसनको कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले समेत सम्बोधन गरिसकेका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउबाले सन् २०१६ को सम्मेलनमा सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्