टहरोमा आगलागी हुँदा एकै घरका दुर्इको मृत्यु

जिरी, कात्तिक ९ ।

दोलखाको गौरीशंकर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका २ को मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्लाको गौरीश‌कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिए ।

आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् । घाइते फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ ।

करीब बिहान २ बजे लागेको आगो साँढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । वृद्धा डालकी अँगेना नजिकै सुत्ने गरेकाले उनले ओढेको कपडामा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । परिवारमा सात सदस्य रहे पनि ३ जनामात्रै घरमा रहेको र अन्य सदस्य भने घरभन्दा आधा घण्टा टाढा गोठमा बस्दै आएकाले उनीहरु भने बाँच्न सफल भएका छन् । रासस

कमेन्ट गर्नुहोस्