साफ यू–१५ : शुक्रबार २ खेल हुँदै

काठमाडौँ, कात्तिक ९ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिता अन्तर्गत शुक्रबार २ वटा खेल हुँदैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेल माल्दिभ्स र बंगलादेशबीच हुने एन्फाले जनाएको छ ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाएका छन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स छन् भने समूह ‘बी’मा भारत, भूटान र पाकिस्तान छन् ।

श्रीलङ्काले भने प्रतियोगितामा सहभागिता जनाएको छैन । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । यसअघि बिहीबार भएको पहिलो खेलमा भारतलाई पराजित गर्दै पाकिस्तान विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ ।

प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएको तीन संस्करण मध्ये भारतले सन् २०१३ र १७ मा दुई पटक उपाधि उचालिसकेको छ ।

त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको थियो । रासस

कमेन्ट गर्नुहोस्