फिल्म सुटिङ्गका क्रममा द्वन्द्व निर्देशकको मृत्यु

मस्को, कार्तिक ९ । रुसमा द्वितीय विश्वयुद्धमाथि चलचित्र छायांकनको क्रममा भएको दुर्घटनामा द्वन्द्व-निर्देशकको ज्यान गएको छ । द्वितीय विश्वयुद्धको विषयवस्तुमा निर्माणाधीन चलचित्र ‘इलिनस्काई फ्रन्टियर’को सुटिङ्गको क्रममा ट्यांकले किचेर प्रसिद्ध स्टन्टम्यान ओलेग सिल्किनको ज्यान गएको हो ।

३१ वर्षीय सिल्किनलाई चलचित्रमा नाजीहरूको भनिएको ट्यांकले कुल्चिएको हो । रिपोर्ट अनुसार ट्यांक सिल्किनभएको ठाउँभन्दा १० फीट टाढा रोकिनु पर्ने थियो तर उक्त ट्यांक ती कलाकारमाथि चढेपछि उक्त दुर्घटना भएको थियो ।

यस चलचित्रमा द्वितीय विश्व युद्धमा १९४१ को एउटा लडाईमा आधारित रहेको छ । उक्त समय हिटलरको सेनाले रुसको लालसेनामाथि आक्रमण गरेको थियो ।

३ सेप्टेम्बर १९३९ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेपछि द्वितीय विश्वयुद्धको विधिवत सुरुवात भएको थियो ।

 

इलिनस्काई फ्रन्टियर चलचित्रको सुटिङ्ग राजधानी मस्कोभन्दा २४० किलोमिटर टाढा हुँदैछ । घटनास्थल टाढा भएकाले एम्बुलेन्स त्यहाँ पुग्नु पहिले नै सिल्किनको मृत्यु भैसकेको बताइएको छ । सरकारले उक्त घटनाको छानबिन सुरु गरिसकेको छ र रसियन इन्भेस्टिगेसन कमिटीको टोली तत्काल घटनास्थल पुगिसकेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्