टीकापुर पार्क पर्यटकको अाकर्षक गन्तव्य स्थल बन्दै

धनगढी, कात्तिक ९ ।

घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ ।

पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (र्याफ्टिङ)को रोमाञ्चकारी यात्रा र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर उद्यान पहिलो रोजाइमा पर्छ । पर्यटकको आगमन बढेसँगै उद्यानको आम्दानीमा समेत वृद्धि भएको उद्यानका प्रमुख अर्जुन कुँवरले बताए ।

दशैँको समयमा प्रवेश शुल्कबापत उद्यानले रु ८९ हजार आम्दानी गरेको छ । देशका विभिन्न जिल्लाबाट दैनिक २०० देखि ५०० जनासम्म आन्तरिक पर्यटक पार्क अवलोकन गर्न आउने गरेका छन् । उद्यानमा प्रवेश शुल्कबापत आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु २५, प्रतिविद्यार्थीका लागि रु १५, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु १५० तथा सार्क बाहेकका राष्ट्रबाट आउने पर्यटकका लागि रु ३०० शुल्क तोकिएको छ । उद्यानमा कात्तिकदेखि जेठसम्म बढी पर्यटक घुम्न आउने गर्दछन्।

दशैँ सकिएपनि यतिबेला वनभोज खान आउनेको उद्यानमा घुइँचो लागेको छ । विसं २०२८ मा स्थापना गरिएको सो उद्यानको नौ बिघामा फलफूल र फूलको बगैँचा छ । टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको उक्त उद्यानमा तत्कालीन राजा महेन्द्रले एक महीना बसेर स्वास्थ्य लाभ गरेका गरेका थिए । उद्यानमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका लगायतका संरचना छन् । रासस

कमेन्ट गर्नुहोस्