अपहरणपछि हत्याका अभियुक्त हिरासतबाटै फरार

विराटनगर, कार्तिक ९ । यहाँको इलाका प्रहरी कार्यालय (इप्रका) रानीको हिरासत कक्षको भेन्टिलेसनको रड काटेर दुई अभियुक्त फरार भएका छन् । बिहीबार राति कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका विराटनगर महानगरपालिका- १७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन फरार भएका हुन् ।

उनीहरू दुबै जना आफ्नै साथीको विराटनगर-१७ रानीका १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या अभियोगमा पक्राउ परेका थिए । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार भागेकाहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटनाका बारेका अनुसन्धान सुरु गरिएको छ । नेपाल-भारत सीमानामा रहेकाले उनीहरू भारततर्फ भागेको अनुमान गरिएको छ । केसीका अनुसार हिरासत कक्षमा हावा पास हुनका लागि पूर्वतर्फ राखिएको भेन्टिलेसनको ६ वटा रड काटेर थुनुवा भागेका थिए ।

प्रहरी कार्यालयका अनुसार ड्युटीका क्रममा लापरवाही गर्ने ड्युटी कमान्डर प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगरनाथ वास्केमाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरूलार्इ जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्