लेबनानी प्रधानमन्त्रीको अपहरण गरेको आरोप लागेपछि साउदी युवराजको यस्तो प्रतिक्रिया

रियाध, कार्तिक ९ । साउदी अरबका युवराज मुहम्मद बिन सलमानले लेबनानका प्रधानमन्त्री साद हरिरीलाई अपहरण गरेर हिरासतमा राखिएको कुरालाई हाँसोमा उडाइदिएका छन् ।

लेबनानी प्रधानमन्त्री हरिरीलाई युवराज सलमानको निर्देशनमा अपहरण गरिएको आरोपहरूको खण्डन गर्दै उनले हरिरीको अपहरण नभएको र उनी साउदी अरबको दुई दिने भ्रमणमा त्यता आएको बताएका हुन् ।

सलमानले यो कुरा रियाधमा आयोजित फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ फोरममा भनेका हुन् । उनले यो सबै हल्ला भएको र यसको असर हरिरीको भ्रमणमा नपर्ने आशा व्यक्त गरे ।

पत्रकारहरूले अपहरणको कुरा उठाउने बित्तिकै सलमानले जोरले हाँस्दै हरिरीसंग हात मिलाए । हरिरीसँगै बसेका थिए । सलमानले भने-“हेर्नुस् मसँग बस्ने को हुनुहुन्छ ?” उनको यस कुरामा कार्यक्रमका सहभागीहरू समेत हाँसेका थिए । साउदीले हरिरीलाई आफ्नो प्रमुख सहयोगी मान्ने गरेको छ ।

लेबनानमा नौ वर्षपछि भएको निर्वाचनमा गत मे महिनामा हरिरी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । साउदी राजधानी रियाधमा ४८ वर्ष अगाडि जन्मिएका साद हरिरी लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीका छोरा हुन् । २००५ मा रफिकको हत्यापछि सादले प्रथम पटक प्रधानमन्त्री पदको सपथ लिएका थिए ।

 

कमेन्ट गर्नुहोस्