नेपाल र भारत छिमेकी मात्र होइन, निकटका मित्र पनि हुन्ः प्रचण्ड

काठमाडौं, कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले नेपाल र भारत छिमेकी मात्र नभएर निकटका मित्र रहेको बताएका छन् । दुई देशको साझा इतिहास, सभ्यता र संस्कृतिले सम्बन्ध अतिविशिष्ट रहेको उनले बताएका छन् ।

इन्डिया फाउन्डेसनको कार्यक्रमलाई नयाँदिल्ली पुगेर सम्बोधन गर्दै प्रचण्डले वेद, बुद्धत्वदेखि नेपालको शान्तिप्रक्रियाको चर्चा गरे । एक दिने कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार बिहान दिल्ली पुगेका पूर्वप्रधानमन्त्री प्रचण्ड शुक्रबार राति नै स्वदेश फर्केका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाको सांस्कृतिक पृष्ठभूमि, नेपालको शान्तिप्रक्रिया तथा संविधान जारीपछिको अवस्थाबारे भारतीय विज्ञ र मन्त्रीसामु बताएका थिए । प्रचण्डले संसार अन्धविश्वास र अशिक्षामा रुमल्लिरहेका वेला दक्षिण एसिया वेद र बुद्धत्वले प्रज्ज्वलित भएको बताए । प्रचण्डले दक्षिण एसिया सभ्यता र मानवताका लागि विशिष्ट रहेको समेत उल्लेख गरे ।

प्रचण्डले भने, ‘संसारको यो भागले महान् सभ्यताहरूलाई वास दिएको छ अनि महान् चिन्तक, नेता, अन्वेषक, विज्ञ, अध्येतालाई जन्म दिएको छ । दक्षिण एसियाको पहिचान विगतमा अत्यन्त उच्च थियो । विगत दुई सय वर्ष हाम्रा लागि अपवाद भएको छ किनकि यो समयमा अधिकांश संसार हामीभन्दा धेरै अघि बढेको छ, हामी पछि परेका छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्