कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

बनेपा, कार्तिक १० । घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेका छन्।

 

सार्कीले स्थानीयबासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि सार्कीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

 

पूर्ण विसङ्खे बिहीबार दिउँसो ३ बजेतिर काठमाडौँ जाने क्रममा भक्तपुरको सल्लाघारीमा बेहोस अवस्थामा प्रहरीले फेला पारी भक्तपुर अस्पतालमा लगिएको र त्यसपछि थप उपचारका लागि वीर अस्पताल पठाएको थियो।

 

सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको र तत्काल शल्यक्रिया गर्नुपर्ने जनाएपछि उपचार नगरी आफन्तले घरमा ल्याएकोमा उनको हिजो बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। -रासस

कमेन्ट गर्नुहोस्