निर्मला हत्याकाण्डबाट सरकार उम्कन खोज्यो : देउवा

काठमाडौं? कार्तिक १० ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अपराधीलाई संरक्षण गरेको आरोप लगाएका छन् । शनिबार तरुण दलको ६५औ स्थापना दिवसको अवसरमा विपि स्मृति भवन सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नको सट्टा सरकार स्वयमले अपराधी संरक्षण गरेको बताए ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई उम्काउने कोशिसमा सरकार लागेको बताए । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कोही पनि राजनीतिक संरक्षणबाट उम्कन नहुने भन्दै उनले कांग्रेसले त्यसविरुद्ध निरन्तर खबरदारी गर्ने घोषणा गरे ।

सभापति देउवाले विभिन्न कालखण्डमा मुलुकमा भएका राजनीतिक परिर्वतनमा तरुण दलको विशेष योगदान रहेको स्मरण गर्दै भावी दिनमा पनि देशको जिम्मेवारी कांधमा लिन तयार रहन तरुणहरुलाई निर्देशन दिएका छन् ।

मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहिनता बढाएको भन्दै उनले देश र जनताको हितका पक्षमा जिम्मेवारी पुर्वक दायित्व वहन निर्देशन दिए ।

तरुण दलका अध्यक्ष जीतजंङ्ग बस्नेतले तरुण दल सधै विपिको विचार र आदर्शको बाटोमा रहेको भन्दै मुलुकमा व्याप्त बन्दै गएको भ्रष्टाचार र हत्या हिंसा विरुद्ध लड्ने तागतको रुपमा स्थापित भएको दाबी गरे ।

कमेन्ट गर्नुहोस्