नेपालकाे विपद व्यवस्थापनका लागि चीनको २ अर्ब ५३ करोड सहयोग

बेइजिङ, कार्तिक १० ।
नेपाललाई चीनले करिब दुई अर्ब ५३ करोड रुपैयाँ (दिने १५० मिलियन चिनियाँ युआन) सहायता सम्बन्धी सम्झौतामा बेइजिङमा हस्ताक्षर भएको छ।

चीनको भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वै फङहबीच शनिबार भएको भेटवार्तापश्चात् विपद् व्यवस्थापन परिचालनका लागि चीनले यो सहयोग उपलब्ध गराउने भएको हो। यो सहयोग आगामी ५ वर्षका लागि मानवीय तथा विपद व्यवस्थापनमा खर्च हुने सम्झौतामा उल्लेख छ ।

भेटवार्तामा रक्षामन्त्री पोखरेलले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै नेपालका प्रधानमन्त्री केपी शर्माओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाइमा पुगेको र राजनीतिक विश्वास बढाएको बताए।

कार्यक्रममा मन्त्री पोखरेलले सैन्य तालिम तथा सैन्य सहायता, मानवीय तथा विपद व्यवस्थापन सम्बन्धी सामग्री, औषधी उपकरण, शान्ति स्थापना तथा नेपालमा रक्षा विश्वविद्यालय स्थापनाका लागि चिनियाँ सहयोगको अपेक्षा गरेको बताए।

चीनका रक्षामन्त्री वै फङहले एक चीन नीतिमा समर्थन तथा तिब्बत मामिलामा नेपालले अंगीकार गरेको नीतिको प्रशंसा गरे। उनले दुवै देशबीच सैन्य सहकार्य सबल पार्ने तथा नेपाललाई आवश्यक पर्ने सहयोगका लागि चीन तत्पर रहेको बताए।

मन्त्री पोखरेल बेइजिङमा भएको आठौं स्याङशान मञ्चमा सहभागी हुन चीन भ्रमणमा छन् । मञ्च २६ अक्टोबरमा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्