ओबामा र क्लिन्टनको घरमा बम पार्सल गर्ने ट्रम्प समर्थक

वाशिंगटन, कार्तिक १० । अमेरिकामा केही दिन यता प्रमुख डेमोक्र्याट नेताहरूको घरमा पार्सलमा बम पठाएको अभियोगमा एकजनालाई गिरफ्तार गरिएको छ ।

अमेरिकी अधिकारीहरूले यस मामिलामा ५६ वर्षीय सिजर सियोकलाई हिरासतमा लिइएको बताएको छ । सियोक राष्ट्रपति ट्रम्पका कट्टर समर्थक हुन् ।

अधिकारीहरूले  केही अन्य संदिग्ध व्यक्तिहरूलाई समेत प्रहरीले पछ्याइरहेको अमेत बताएका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्न्नो देशमा यस प्रकारका उच्छृंखल गतिविधिका लागि कुनै स्थान नरहेको भन्दै दोषीहरूमाथि कारबाही हुने आश्वासन दिएका छन् ।

अमेरिकाको गुप्तचर विभागले पूर्व राष्ट्रपति बाराक ओबामा र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसहित आठ जना प्रतिष्ठित व्यक्तिहरूको घरमा पठाइएका संदिग्ध पार्सलहरूमा विष्फोटक जडान गरिएको डिभाइस बरामद गरेको थियो ।

अमेरिकी अधिकारीहरूले यीमध्ये केही पोकाहरू उत्तर-पश्चिमी मियामीको एउटा हुलाकबाट पठाइएको बताएकाछन् ।

एफबिआइले ओबामा र क्लिन्टनका अतिरिक्त अर्बपति जर्ज सोरेस, अभिनेता रोबर्ट डी निरो, जो बिडेन, सिआइएका पूर्व प्रमुख जोन ब्रेनन, र पूर्व महान्यायाधिवक्ता  एरिक होल्डरलाई यस्तो पार्सल पठाईएको थियो  ।

तर यीमध्ये कुनै पनि डिभाइस विष्फोट भने हुन पाएको थिएन ।

यसरी विष्फोटक पठाइएका सबै जना राष्ट्रपति ट्रम्पका कटु आलोचक मानिन्छन् । यस्तो बम आतंक अमेरिकाको मध्यावधि निर्वाचनभन्दा दुई हप्ता पहिले सुरु भएको हो ।

धेरैले अमेरिकामा राजनैतिक कटुताको युग सुरु भएको र यसका लागि ट्रम्पका कट्टरपन्थी नीतिहरू दोषी रहेको बताएका छन् ।

एजेन्सी

कमेन्ट गर्नुहोस्