चीनले २५ करोड दिने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, कार्तिक १० । छिमेकी मुलुक चीनले नेपाललाई २५ करोड रुपैयाँ भन्दाबढीको सहयोग उपलब्ध गराउने भएको छ। चीनले नेपाललाई प्राकृतिक विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप सो रकम उपलब्ध गराउन लागेको हो ।

 

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ समकक्षी वेइ फेङहेले नेपाल–चीनबीचको सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

 

बेइजिङस्थित नेपाली राजदूताबासले शनिबार जारी गरेको विज्ञप्तीमा आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने जनाइएको छ । यसैगरी, पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सहयोग गर्नको अनुरोध गरेका थिए। जवाफमा चिनियाँ रक्षामन्त्रीले सकारात्मक रुपमा लिँदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएका छन्।

 

नेपालको अनुरोधप्रति सहमति जनाउँदै चीनले आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रुप दिइने प्रष्ट पारेको विज्ञप्तीमा जनाइएको छ। उपप्रधानमन्त्री पोखरेलले सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल गर्दै सहयोगको अपेक्षा गरेका छन्।

 

एकचीन नीति तथा तिब्बत मामिलामा नेपालबाट निरन्तर सहयोग प्राप्त भएकामा चिनियाँ रक्षामन्त्रीले नेपालको सराहना गरेका छन्। भेटवार्तामा दुवै देशका रक्षामन्त्रीले आपसी भ्रमण आदानप्रदानबाट नेपाल र चीनबीच उच्च राजनीतिक तहमा आशा, विश्वास र भरोसा अभिवृद्धि हुने बताएका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष गरेको चीनको औपचारिक भ्रमणबारे पनि दुई देशका रक्षामन्त्रीबीच छलफल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्