भारतमा विपक्षीको ऱ्यालीमा ढुङ्गा आक्रमण, २० घाइते, सत्ताधारी बीजेपीमाथि आरोप

नयाँ दिल्ली, कार्तिक १० । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा सरकारविरोधी प्रदर्शनमाथि आक्रमण हुँदा २० प्रदर्शनकारी घाइते भएका छन् ।

दक्षिण त्रिपुराको बेलोनिया जिल्लामा प्रदेश संसदमा प्रतिपक्षमा रहेको दल मार्क्सवादी कम्युनिस्ट पार्टी- सिपिएमले शनिबार आफूले गरेको विरोध प्रदर्शनका क्रममा आफ्ना २० कार्यकर्ता घाइते भएको जनाएको छ ।

पार्टीले उक्त आक्रमणमा सत्ताधारी भारतीय जनता पार्टी- बिजेपीका कार्यकर्ताहरूले विरोध ऱ्यालीमा ढुङ्गा प्रहार गरेपछि उक्त घटना घट्न गएको आरोप लगाएको छ ।

सिपिएमले फ्रान्ससँगको रक्षा सम्बन्धी राफेल सम्झौता भएको कथित भ्रष्टाचारको जाँचको माग गर्दै उक्त ऱ्याली निकालेको थियो ।

प्रहरीका अनुसार बेलोइया जिल्लाको पार्टी कार्यालयबाट निस्केको जुलुसमा करिब २५ जनाको समूहमा आएका केही युवाहरुले ढुङ्गा प्रहार गरेका थिए ।

प्रहरीले उक्त आक्रमणस्थलमा हस्तक्षेप गरेपछि आक्रमणमा संलग्न युवाहरू भाग्न सफल भएका थिए ।

एक जना सिपिएम नेताका अनुसार पार्टीको भातृसंगठन जन एकता अधिकार मंचको अगुवाईमा निस्केको जुलुसमा रक्षा मन्त्री निर्मला सीतारमणको राजीनामा मागिएपछि बीजेपी कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।

यस मामिलामा १० जना बीजेपी कार्यकर्ताहरू विरुद्ध मुद्दा दायर गरिएको बताइएको छ । उता बीजेपी स्रोतहरूले उक्त आक्रमणमा आफ्नो पार्टीको कुनै हात नभएको बताएको छ ।

 

कमेन्ट गर्नुहोस्