बाँदर आतंक रोक्न ३० लाख बजेटः एउटा बाँदर समातेको २ हजार

पर्वत, कार्तिक ११ । जिल्लाको महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।

 

गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारण खुसी भएका छन् । गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाट पीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।

 

अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । अघिल्लो वर्षसम्म बाँदर आतंकको गुनासो गर्दै आउने कृषकहरू पनि अहिले खुसीका साथ अन्य सेवाका लागि वडा र गाउँपालिकामा धाउने गरेको उनले बताए ।

 

महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँचजनाको टोली ल्याएको छ । एउटा बाँदर समातेको दुई हजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारी अधिकृत किसन क्षेत्रीले बताए ।

 

तीन सय बाँदर खोरमा
गाउँपालिकाले ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन’ शीर्षकमा चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेरै अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले वन्यजन्तुविज्ञसँग समन्वय गरी बाँदरलाई नियन्त्रण गर्दै आएको छ । अहिले बाँदर नियन्त्रण गरी राख्नका लागि निर्माण गरिएको खोरमा करिब तीन सय बाँदर संकलन गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्