शिक्षासेवी एवं नेकपाका नेता मास्केको निधन

काठमाडौं, कार्तिक ११ । शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधन भएको छ । माइतीघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहेका मास्केको शनिबार दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिए।

 

मस्तिष्कघातका कारण एक महीनाअघि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। मास्केको आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने महासङ्घका अध्यक्ष थापाले बताए । ६७ वर्षीय मास्केका तीन छोरा र श्रीमती छन् ।

 

अमेरिकामा रहेका उनका दुई छोरा फर्केपछि सोमबार मात्र दाहसंस्कार हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहेका  मास्केले सरकारी शिक्षकबाट निवृत्त भएपछि निजी शैक्षिक संस्था खोलेका थिए ।

 

स्वयम्भूको जलजला शिशु सदनमा उनी सञ्चालक रहेका थिए । विसं २०४३ मा भएको काठमाडौं महानगरपालिका निर्वाचनमा उनलाई नेकपा (माले) को तर्फबाट प्रमुखको उम्मेदवार भएका थिए ।

 

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार साँझ ट्वीटमार्फत उनले स्व मास्केप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गरेका हुन् । -रासस

कमेन्ट गर्नुहोस्