चीनद्वारा नेपाली सेनालाई साढे दुई अर्ब सहयोग

काठमाडौं, कार्तिक ११ । चीनले नेपाली सेनालाई १५ करोड युयान (दुई अर्ब ५३ करोड ६५ लाख रुपैयाँ) सहयोग घोषणा गरेको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ समकक्षी स्टेट काउन्सिलर जनरल वेई फेङबीच उक्त सैन्य सहयोग सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ । हस्ताक्षरअघि दुई रक्षामन्त्रीबीच औपचारिक वार्ता भएको थियो । चीनले घोषणा गरेको सैन्य सहायता पाँच वर्षभित्र दिनेछ ।

 

रक्षामन्त्रीस्तरीय औपचारिक वार्तामा दुई देशका जनता र सेनाबीचको सम्बन्ध थप विकसित गर्ने सहमति पनि भएको छ । तीनबुँदे समझदारीपत्रमा मानवीय सहायता तथा प्रकोपका वेला उद्धारमा आवश्यक उपकरण खरिद र नेपालसम्मको ढुवानीको जिम्मा चीनले लिने उल्लेख छ ।

 

सैन्य अनुदानअन्तर्गत चीनले दिएको रकमबाट चीनमै खरिद हुने सामग्रीको संख्या, हस्तान्तरण हुने स्थान तय भएपछि द्विपक्षीय प्रोटोकलमा हस्ताक्षर हुनेछ । त्यसपछि मात्रै सामग्री नेपालमा आउने छ ।

 

‘हस्तान्तरणका लागि दुवै पक्षले प्रतिनिधि तोक्नेछन्,’ द्विपक्षीय समझदारीपत्रमा भनिएको छ, ‘सामग्री ढुवानीको आवश्यक बन्दोबस्त र ढुवानी शुल्क चीनले तिर्नेछ । नेपालको निश्चित स्थानसम्म हुने ढुवानीपछिको आवश्यक यातायात खर्च नेपालले नै व्यहोर्नेछ ।’ तीन पृष्ठ लामो समझदारीपत्रमा हस्ताक्षरसँगै कार्यान्वयन प्रक्रिया सुरु भएको उल्लेख गरिएको छ ।

 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको पछिल्लो उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुमधुर भएको नेपाली दूतावास बेइजिङका उपनियोग प्रमुख सुशीलकुमार लम्साल बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्