डोल्पामा बुद्धका ४२ मूर्ति चोरिए

डोल्पा, कार्तिक ११ । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको–४ नाम्दोको राहाप गुम्बाबाट बुद्धका मूर्ति चोरी भएका छन । साविकको साल्दाङ गाविसको नाम्दोमा रहेको राहाप गुम्बाका एक थान बौद्ध स्तूपासहित ४२ थान पूराना बुद्ध मूर्ति चोरी भएका हुन् ।

 

चोरी हुने खतराबाट जोगाउनका लागि लुकाएर राखेका स्तूपा र मूर्ति चोरी कति दिन पहिला भयो भन्नेबारे कसैलाई पनि जानकारी छैन। कम्तिमा पनि एकसाता पहिले नै चोरी भएको हुनुपर्ने स्थानीयहरु बताउछन् ।

 

सयौं बर्ष पूराना बौद्धका मूर्तिहरु चोरी हुन थालेपछि स्थानीयबासी त्रसित भएका छन् । पुजारी र गाउँका जानमानको राहोवरमा सुरक्षित स्थानमा राखिएका मूर्ति स्तूपा कसरी चोरी भए भनी अचम्मित भएको स्थानीय क्याल्छेन गुरुङले बताए ।

 

गुम्बाका बहुमूल्य मूर्तिहरु २०६२ सालदेखि नै राहाप गुम्बाका पुजारी लामाहरु कुन्साङ लामा, सोनाम गुरुङ, पेमातोर्चे लामा र थुक्तेन बुढाको संरक्षणमा राखिएको स्थानीय बताउछन। राहाप गुम्बा नाम्दो गाउँ भन्दामाथि रहेकाले लामा पुजारीहरुले पालैपालो सुरक्षा गर्ने गरेका थिए।

 

सयौं बर्ष पूराना बौद्ध स्तूपा र बुद्धका मूर्तिहरु गत असारसम्म गुम्बामै रहेको स्थानीयहरु बताउछन । लामा पुजारीहरुको सुरक्षामा रहेका स्तूपा र बहुमूल्य मूर्तिहरु कसले कहिले चोरी भया ? भन्नेबारे भने कसैलाई जानकारी नभएको वडा नं ४ का वडाअध्यक्ष पेमावाङछेन लामाले बताए ।

 

यही कार्तिक ७ गते गुम्बाका पुजारी लामा गुम्बाको बाटो भएर चौरी गोठालो जाँदा मूर्ति चोरी भएको आशंका गरेर स्थानीयलाई जानकारी गराएका थिए । त्यसपछि हेर्दा मूर्ति र स्तूपा राखेको ठाँउमा नभएको स्थानीयहरु बताउछन। मूर्ति राखिएको ठाउँमा कोदालोसमेत भेटिएको बताइएको छ ।

 

मूर्ति चोरी भएको खबर पाएपछि शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धाबासम्डुक गुरुङ घटनाबारे बुझन नाम्दो पुगेका छन् । प्रहरी आइतबार बिहान घटना स्थलतर्फ जाने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्