२ वर्षअघि सुरु भएको नारायणपुरमा खानेपानी योजना निर्माण सम्पन्न

दाङ, कात्तिक ११ ।

नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे २ वर्षपहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांशले हालसम्म कुवाको पानी पिउँदै आएका छन् ।

नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको २० प्रतिशत श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी दिए ।

सो योजना अन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण, पानी छान्ने मेसिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको रिजर्भ ट्याङ्की निर्माण र पाइप लाइन विस्तारलगायत काम गरिएको पनि अध्यक्ष रजौरेले जानकारी दिए ।

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताहरुले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए ।

सो खानेपानी योजनाबाट नारायणपुर क्षेत्रका तीन हजार २९ घरघुरीका १४ हजारभन्दा बढीले पानी खान पाउने भएका छन् । केही दिनपछि धाराबाट पानी वितरण गरिने बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्