काठमाडौं आइपुगे मलेसियाका मानव संशाधनमन्त्री, आज श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं, कार्तिक १२ । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन काठमाडौं आइपुगेका छन् । आइतबार राती काठमाडौं आइपुगेका उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले स्वागत गरे।

 

सोमबार काठमाडौंमा हुने विशेष कार्यक्रममा नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना तथा रोजगारी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

 

सम्झौतापछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नेछ । यससँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन । त्यस्तै, नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । रोजगारदाता देशलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर हुन लागेको श्रम मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिए ।

 

श्रम सम्झौतामा हस्ताक्षर भए पनि नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने प्रवक्ता रेग्मीले जानकारी दिए । नेपाल सरकारले कामदारसँग अवैध शुल्क लिदै आएको एजेन्सी खारेज गरेसँगै छ महिनादेखि मलेसियामा नेपाली कामदार जान पाएका छैनन् । नेपालबाट रोजगारीका लागि विदेश गएकामध्ये झण्डै ३० प्रतिशत अर्थात ५ लाख जना नेपाली मलेशियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्