मुख्यमन्त्री राई उपचारका लागि थाइल्यान्ड जाँदै

विराटनगर, कार्तिक १२ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्यान्ड जाने भएका छन्  । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक १६ देखि २४ गतेसम्मका लागि उपचारमा जान स्वीकृति दिने निर्णय गरेको छ  ।

 

मुख्यमन्त्री घाँटीसम्बन्धी समस्याबाट पीडित छन् । ‘यहाँको उपचारबाट खासै प्रगति नभएपछि ८ दिनका लागि थाइल्यान्ड जान लाग्नुभएको हो,’ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘आजको मन्त्रिपषिद् बैठकले यससम्बन्धी स्वीकृति गरेको छ ।’

 

मुख्यमन्त्री निजी खर्चमा जाने भएकाले प्रदेश सरकारको कुनै रकम नलाग्ने कार्कीले बताए । यही क्रममा मुख्यमन्त्री राई निजी भ्रमणमा अमेरिकासमेत जाने भएका छन् । यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश कानुन निर्माणका क्रममा सहयोग गर्न गठन भएको कानुन मस्यौदा समितिको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।

 

नेकपा सुनसरीका नेता पूर्वसांसद रेवतीरमण भण्डारीको संयोजकत्वमा सरकारले समिति गठन गरेको थियो । बैठकले आर्थिक कार्यविधिसमेत पास गरेको छ । बैठकले प्रदेश सामाजिक सुरक्षा व्यवस्था गर्न बनेको विधेयक, बालबालिकासम्बन्धी विधेयक र मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्