शिक्षक बेपत्ताः जनप्रतिनिधिसहित पाँचजना जेल

रुकुम, कार्तिक १२ । पूर्वी रुकुममा शिक्षक बेपत्ता पारेको अभियोगमा एक जनप्रतिनिधिसहित पाँच जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन् । रुकुम पुथा उत्तरगंगा वडा नम्बर २ स्थित आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता पारेको अभियोगमा सोही वडाका अध्यक्ष सतसिंह बुढासहित पाँच जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको हो।

 

कारागार पठाइएका अन्यमा सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जसबहादुर कामी, स्थानीय राजमराज झाँक्री, विनोद खत्री र विकास बुढा छन्। गत साउन ३१ गते केही युवाले शिक्षक केसीलाई कुटपिट गरेका थिए। उक्त घटनाको केही दिनपछि उनी एकाएक बेपत्ता भएका हुन् ।

 

अहिलेसम्मको अनुसन्धान अनुसार उक्त घटनामा उल्लिखित पाँच जनाको संलग्नता देखिएको भन्दै जिल्ला अदालतले थुनामा पठाएको हो। ‘अहिलेसम्मको प्रमाणका आधारमा उनीहरू दोषी देखिएका छन्,’ जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले नागरिकसँग भने, ‘थप अनुसन्धानका लागि उनीहरूलाई थुनामै राख्नुपर्ने निचोडमा अदालत पुगेको हो।’ उनीहरूलाई पश्चिम रुकुमस्थित कारागार पठाइएको उनले जानकारी दिए। नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्