२ युवाका हकमा अध्यागमन अधिकृत सशंकित, राहदानी लुकाएर उड्न खोज्दा प्रहरीको फन्दामा

काठमाडौं, कार्तिक १२ ।

आइतबार दुई युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दिल्ली जाँदै थिए ।

एयर इण्डियाको फ्लाइट नम्बर एआई २१४ बाट दिल्ली उड्न तयार युवाले अध्यागमनको प्रस्थान कक्षमा आफ्नो नागरिकता देखाए ।

नेपाली नागरिकता बाहकलाई अध्यागमनले हवाई मार्ग प्रयोग गर्न छुट दिन्छ। उनीहरु त्यही प्रक्रियामा थिए। ती दुई युवाका हकमा अध्यागमन अधिकृत केही सशंकित देखिए । सोधपुछ गर्दा समेत चित्त बुझ्दो जवाफ आएन।

अध्यागमन अधिकृतले दुवैलाई प्रस्थान कक्षमा बसाए । विमान कम्पनीसँग यात्राको विस्तृत सूचना मागे । एयर इन्डियाले सूचना दियो, जीवनकुमार बर्देवा र नूतन तामाङ दिल्ली हुँदै दुबई जाने यात्रु हुन्। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उनीहरुको ट्रान्जिट विन्दू हो ।

उनीहरु दुवै भिजिट भिषामा दुबई जाँदै थिए।

‘दुवैजना दुबई जाने पत्ता लागेपछि हामीले उनीहरुसँग राहदानीका विषयमा सोध्यो । राहदानी फेला परेपछि नक्कली अध्यागमनको प्रस्थान छाप र दस्तखत भेटियो,’ विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालखबरसँग भने। दुवैको राहदानीमा अध्यागमनमा आईतबार ड्युटीमा खटिने अध्यागमन अधिकृतको नक्कली हस्ताक्षर थियो।

अध्यागमन अधिकृतले राहादानीमा लगाउने विशेष छाप हुनेगर्छ। त्यस्तो छापमा अंग्रेजीमा ुप्रस्थानु लेखिएको हुन्छ। सो छापमा उल्लेख भएको कोड नम्बरले अध्यागमन अधिकृतको परिचय खुल्छ।

‘गिरोहको पहुँच कहाँसम्म रहेछ भन्ने यो घटनाले देखाएको छ। अध्यामगन अधिकृतको ड्युटी सेड्युल समेत पत्ता लगाएर किर्ते गरेको देखियो,’ महानिर्देशक पौडेलले भने।

अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएका दुवैले राहदानी झोलामा लुकाएर नागरिकता परिचयपत्र देखाएका थिए। उनीहरुको योजना दिल्ली विमानस्थलमा पुगेपछि नक्कली छाप र दस्तखत भएको राहदानी देखाएर दुबई उड्ने थियो।

विभागकाअनुसार दुवैले चावहिल गोपीकृष्ण हल नजिक अध्यागमन अधिकृतको नक्कली छाप र दस्तखत लगाएका थिए। म्यानपावर एजेन्टले सो काम गराएको उनीहरुको बयान दिएका छन् ।

विभागले थप अनुसन्धानका लागि बर्देवा र तामाङलाई महानगरीय अपराध महाशाखाका अधिकारीको जिम्मा लगाएको छ। महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार दुवैलाई सरकारी छाप किर्ते दस्तखतमा अनुसन्धान भइरहेको छ।

‘दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं। यो प्रकरणमा संलग्न अन्य ब्यक्तिको खोजी जारी छ,’ एसएसपी सिंहले नेपालखबरसँग भने।

अध्यागमन अधिकृतको अधिकार कटौती

अध्यागमन अधिकृतमा रहेको प्रस्थान अनुमति र रद्दको अधिकार कटौती भएको छ।

विभागले अध्यागमन कार्यविधि संशोधन गर्दै अध्यागमन अधिकृतले कसैलाई नेपालबाट बाहिर जान रोक्न सक्ने अधिकार कटौती गरेको हो। विभागका अनुसार अब कसैलाई जानबाट रोक्ने मुनासिब कारण भए अधिकृतले त्यसको जानकारी लिखित रुपमा वरिष्ठ अध्यागमन अधिकृतलाई गराउनु पर्नेछ।

वरिष्ठ अध्यागमन अधिकृतले अध्यागमन प्रमुखको समर्थनमा मात्र प्रस्थान आदेश रद्द गर्न सक्ने छ। यसरी प्रस्थान आदेश रद्द गरेपछि त्यसको जानकारी सहितको पत्र सम्बन्धित ब्यक्तिलाई दिनुपर्ने छ। त्यसको एकप्रति अनिवार्य रुपमा विभागमा समेत उपलब्ध गराउन परिपत्र भएको हो । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्