आकर्षणका पात्र बनेका पूर्वका आशलाग्दा दुई युवा नेता

राजनीतिलाई व्यक्तिगत लाभको पेशा ठान्नेहरुको भीडमा हार र जीतलाई अर्थ नराखी हिँडनेहरु थोरै छन । यस्तैमा पर्छन तस्वीरमा देखिएका दुई युवा नेता ।

वैचारिक र संगठनात्मक हिसाबले लामो संघर्ष गर्दै आफ्नो स्थान बनाउन सफल नेता हुन योगेश भट्टराई । समाजवादी नेपालको निर्माणका लागि युवाहरु सिर्जनशील र कर्मशील हुनुपर्ने मान्यता राख्दै सरकारको मात्र मुख नताकि आफै अघि सर्नुपर्ने भन्दै जनतामाझ सक्रिय अर्का नेता हुन जीवन आचार्य ।

दशैं र तिहारको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको बृहत चियापान समारोहमा यी दुबै नेता देखिए । सँगै उभिएका उनीहरु चियापानमा सहभागीहरुमाझ आकर्षणका पात्र बनेको देखिन्थ्यो ।

झापा विद्रोहका रापले माक्र्सवादी चेतना विकास हुँदै अघि बढे भट्टराई र माओवादी जनयुद्दको प्रभाव पर्यो आचार्यलाई । अहिले दुबै युवा नेता एउटै कम्युनिष्ट पार्टीमा सँगै उभिन पुगेका छन् । गत निर्वाचनमा संघीय संरचना अनुरुप क्षेत्र नं. १ को पहाडी जिल्ला ताप्लेजुङबाट निर्वाचित हुन पुगे योगश भट्टराई । आचार्य भने एकदमै झिनो मतले पराजित हुन पुगे ।

प्रचण्ड परिवारमा चुनावकै बेला दुखद घटना घटेपटि निर्वाचन क्षेत्रमा सक्रिय हुन पाएनन आचार्य । एकातिर संगठनको पनि कमजोर क्षेत्र अर्कोतर्फ परिवारमा दुख परेको कारण सबै जनताको घर आँगनमा पुग्न नसक्दा उनले सोचे अनुरुपको चुनावी अभियान नै चलाउन पाएनन । तर उनको लोकप्रियता नै भनौं, उनले २१ हजार ५ सय ७० मत ल्याउन सफल भए । प्रतिष्पर्धि उम्मेदवारसँग जम्मा १६ सय मतले उनको हार भएको थियो ।

नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने जीवन आचार्य हार र जीतले राजनीति प्रभावित नहुने बताउँछन् । जीत भए संसदमा पाइला टेकिने हो, फरक त्यत्ति मात्र हो । तर हारले जनताको आँगनमा पाइला टेक्ने बनाउने रहेछ । सदनमा व्यस्त हुन नपाएपनि जनताको घर आँगनमा जितेको नेताहरु भन्दा बढी आत्मीयरुपमा जोडिएको उनी बताउँछन् । मोरङ निवासी जीवन आचार्यले पराजित भएपनि विकास निर्माण, युवा सचेतना, सामाजिक जागरणका क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएका छन् ।

अबको नेकपा र देशको भविष्य युवारुको काँधमा रहेको बताउने आचार्य नयाँ पुस्ताले फरक ढंगले वैचारिक, राजनीतिक र जन सरोकारका विषयमा दृष्टिकोण राख्नुपर्ने बताउँछन । परम्परागतरुपमा नेपाली समाज नरहेकोले नयाँ सोच, नयाँ परिवेशका आधारमा कम्युनिष्ट पार्टीले युवाहरुलाई मुख्यरुपमा केन्द्रीत गरेर नीति अघि सार्नुपर्ने उनको धारणा छ । राजनीति व्यापार बनिरहेको अवस्थामा यसलाई विशुद्ध स्वयमसेवी बनाउन र निरन्तर जनताको काममा खटन सक्ने युवाहरु नै भएकोले सबै युवाहरुबीच समाज परिवर्तनमा समान धारणा हुनुपर्ने उनी बताउँछन् ।

नेता भट्टराईले लामो समयदेखि पार्टीभित्र रुपान्तरणको पक्षमा वकालत गर्दै आएका छन् । पार्टी एकीकरण नहुँदै पनि उनले पार्टीभित्रको जनवादमा विशेष जोड दिँदै आए । खरो स्वभावका नेता भट्टराई अबको राजनीति नयाँ विचारका साथ युवाहरुल हाँक्नुपर्नेमा विश्वास राख्छन । तर यी युवा सिर्जनशील, जनताप्रति प्रतिबद्ध र इमान्दार हुनुपर्ने उनको मत देखिन्छ ।

अहिले पूर्वमा आचार्य र भट्टराई जस्तो थुप्रै युवाहरु रहेका छन् । खाँचो उनीहरुबीच समान धारणा र एकीकृत अभियानको हो । आचार्यको स्कूलिंग माओवादी र भट्टराईको स्कूलिंग एमाले भएपनि नयाँ समृद्ध नेपालको निर्माण यिनीहरुजस्तै जुझारु नेताहरुले नेतृत्व गर्न सके यसले कम्युनिष्ट पार्टी र समाजवादी आन्दोलनमा थप योगदान दिनेमा शंका गर्नु पर्ने ठाउँ देखिन्न ।

कमेन्ट गर्नुहोस्