काठमाडौँ कार्तिक १२ ।
सोमबार नेपाल र मलेसियाबीच उच्च स्तरीय बैठक सुरु भएको छ ।
नेपाल र मलेसियाबीच हुन लागेको श्रम सम्झौता अगाडि होटल हायातमा मन्त्रीस्तरीय बैठक सुरु भएको हो ।
बैठकमा द्विपक्षीय सहमतिपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ । बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरान सहभागी छन्।
श्रम सम्झौताका लागि आइतबार नेपाल आइपुगेका मलेसियाका मानव संसाधनमन्त्री एम कुला सेगरानले आजै बिहान पशुपतिनाथको दर्शन समेत गरेका छन्।
मन्त्रीस्तरीय समझदारीपछि आजै दुई देशबीच श्रम सम्झौता हुने भएको छ। सम्झौतासँगै अब मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा कामदारले शुल्क तिर्नुपर्ने नपर्ने भएको छ।
सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख गरिएको छ।
त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको श्रम मन्त्रालयले जनाएको छ।
नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहे पनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन।