सडक सरसफाई अभियान चलाउँदै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल

चितवन, कार्तिक १२ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरभित्र सरसफाई गरी सफा–सुग्घर बनाउनु सम्पूर्ण महानगरवासीको सामुहिक दायित्व हुने बताएकी छन् ।

सोमबार बिहान भरतपुर महानगरपालिकाको मुख्यकेन्द्र भरतपुरको चौबीस कोठीमा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका फोहोरमैला रहित बनाउनुपर्ने बताउँदै फोहोरमैला व्यवस्थापनमा नगरवासीको सक्रिय सहभागिता रहनुपर्ने बताइन् ।

नगरवासीहरूलाई आ–आफ्नो घर, टोल, छिमेक, राजमार्ग तथा सार्वजनिक पार्कलाई अभियानकै रूपमा सरसफाई गर्न आग्रह गरिन् । भरतपुर महानगरपालिकाले सरसफाईलाई प्रभावकारी बनाउन साप्ताहिकरूपमा कार्यक्रम चलाउने बताउँदै उनले यसमा महानगरवासीको साथ र सहयोगको अपेक्षा रहेको बताएकी छन् ।

बिहान साढे ७ बजेदेखि सुरू भएको सरसफाई कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरका प्रवक्ता तथा वडा नं.१० का अध्यक्ष अरूण पीडित भण्डारी, वे गु्रप, नेपाली सेना, नेपाल प्रहरी, टोल सुधार समितिका पधाधिकारी, महानगरपालिकाका कर्मचारी तथा नगर प्रहरीहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्