बन्चरो प्रहार गरी श्रीमतीको हत्या

तौलिहवा, कार्तिक १२ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ बनकट्टामा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

आइतबार राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय बसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

मजदुरी गरी खाने परियारले मादक पदार्थ सेवन गरी सधैं घरमा झगडा गर्दै आएका थिए। आइतबार राति छोराछोरी सुतिसकेको अवस्थामा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए। हत्यारा फरार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

शव पोस्टमाटमका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियारका दुई छोरा र एक छोरी छन्।

कमेन्ट गर्नुहोस्