सप्तकोसी जेटबोटमा जल यातायातबाट दैनिक १ हजार बढीले यात्रा

उदयपुर, कार्तिक १२ ।

उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी नदीमा जेटबोटमार्फत जल यातायात सुरु भएको छ ।

जल यातायातमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सक्रियतामा जेटबोट सञ्चालनमा ल्याइएको हो ।

जेटबोट गत वर्षबाट सञ्चालनमा ल्याएको भएपनि वर्षात्को समयमा भने बन्द थियो ।

करीब २ महिनाअघि सुरु भएको जल यातायातबाट दैनिक १ हजार बढीले यात्रा गर्ने गरेका छन् । प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्रको दर्शनकालागि आउने भक्तजनको रोजाइ यतिबेला जेट बोट बनेको छ । अरुण र तमोर नदीसम्म जल यातायात मार्फत घुम्ने पर्यटकको संख्या पनि दिनहुँ बढिरहेको छ ।

“पर्यटकलाई जल यातायात मार्फत घुमाएर आन्तरिक पर्यटन प्रर्वद्र्धन गर्ने उद्देश्यले जेट बोट सञ्चालनमा ल्याइएको हो,” बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले भने, “हामीले पर्यटन विकासको पूर्वाधारका रूपमा सप्तकोसी नदीको जल यातायातलाई महत्व दिएका छौं ।” सप्तकोसीमा जेटबोट सञ्चालनसँगै प्याराग्लाइडिङ सञ्चालनको तयारी पनि भइरहेको थापाले बताए ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय युवाहरूले ३ करोड रुपैयाँभन्दा बढी लागतमा जल यातायात सुरु गरेका हुन् । उनीहरूले भारतको पुनाबाट जेट ल्याएर सप्तकोसी नदीमा सेवा दिँदै आएका छन् ।

“सरकारले चाहेको खण्डमा सुनकोसीको दोलालघाट र संखुवासभाको तुम्लिङटारसम्म जल यातायात संचालनमा ल्याउन सकिन्छ,” सञ्चालक पर्शुराम राईले भने, “सप्तकोसी नदीको बीचबीचमा रहेका ठूला ढुंगाका कारण सञ्चालन गर्नसक्ने अवस्था हाललाई छैन ।” सप्तकोसी नदीका ढुंगा पन्छाएर बाटो खोलिदिएको खण्डमा १ घन्टामा तुम्लिङटार र २ घण्टामा दोलालघाट पुग्न सकिने उनको भनाइ छ ।

व्यावसायिक रूपले सप्तकोसी नदीमा पहिलो पटक संचलनमा ल्याइएको जेट चढ्न उल्लेख्य रूपमा यात्रुहरू आउने गरेका छन् । तर जेटको हाल कायम रहेको ८ सय रूपैयाँ भाडा महंगो भएको र उचित पार्किङ तथा अन्य भौतिक व्यवस्थापनको कमी रहेकोले तत्काल भाडा दर घटाई अन्य व्यवस्था मिलाउनु पर्ने उनीहरूको सुझाव छ ।

“हालको भाडा दरलाई पुर्नविचार गर्नु पर्ने देखिन्छ,” धरानबाट आएकी मन्जु आङबोहाङ भन्छिन्, “पार्किङ, बिश्राम कक्ष, होटेलजस्ता अन्य सुविधाको कमी छ ।” बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न यस्ता सुविधा आवश्यक रहेको उनले बताइन् । जल यातायात सुरु भएसंगै सो क्षेत्रको आर्थिक गतिविधिमा समेत वृद्धि भएको छ । उदयपुरको बेलका नगरपालिकालाई पयर्टकीय क्षेत्र बनाउने नगरपालिकाको घोषणसंगै सुरु भएको जल यातायातले स्थानीयलाई समेत फाइदा पुगेको बेलका नगरपालिकाले जनाएको छ ।

“सरकारले सप्तकोसी नदीमा रहेका ढुंगा व्यवस्थापन गरेर बोट सञ्चालनका लागि जलमार्ग निर्माण गरिदिन आवश्यक छ,” बेलका नगरपालिका समाजसेवी रमण भट्टराई भन्छन्, “दोलालघाट र तुम्लिङटारसम्म बोट पुग्ने अवस्था सिर्जना गर्ने हो भने आन्तरिक तथा बाह्यि पर्यटकलाई मात्र होइन, पहाडी तथा हिमाली भेगका सर्वसाधारणलाई समेत जल मार्ग हुँदै आवागमन गर्न सहज हुने निश्चित छ ।” कारोबारदैनिकबाट

कमेन्ट गर्नुहोस्