ब्राजिलः हारे वामपन्थी उम्मेदवार, कट्टर दक्षिणपन्थी बोल्सोनारो नयाँ राष्ट्रपति

काठमाडौं, मेक्सिकोमा वामपन्थी राष्ट्रपतिको विजयले उत्साहित ल्याटिन देशका जनता ब्राजिलको निर्वाचनले झस्किएका छन् ।
ब्राजिलमा राष्ट्रपति पदमा भएको निर्वाचनमा दक्षिणपन्थी भनेर चिनिएका जेयर बोल्सोनारोले वामपन्थी वर्कस पार्टीका उम्मेदवार फर्नान्डो हद्दादलाई हराउँदै पूर्ण बहुमत पाएपछि ल्याटिनमा ठूलो चर्चा शुरु भएको हो ।

बिबिसी र सिएनएन जस्ता मिडियाले नव निर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोलाई कट्टर दक्षिणपन्थी राष्ट्रपति भनेर चित्रण गरेका छन् ।
निर्वाचित राष्ट्रपति बोल्सोनारो यसअघि सेनाका कप्तान थिए । उनले ५५.२ प्रतिशत मत ल्याए । प्रतिद्वन्द्वी फर्नान्डोले ४४.८ प्रतिशत मत पाए ।

जीतसँगै बोल्सोनारोले अपराध र भ्रष्टाचारविरुद्ध आफूले संघर्ष गर्दै आएकोले जनताको मत पाएको प्रतिक्रिया दिएका छन् ।
तर तानाशाही प्रवृत्तिका बोल्सोनारोका बारेमा ठूलो आलोचना समेत शुरु भएको छ । उनले जातीवाद, महिलाविरोधी र समलैंगिक समुदायका बारेमा परम्परागत धारणा राख्दै आएका छन् ।

बोल्सोनारोलाई महिलाहरुप्रति निकै गलत धारणा राख्ने गरेको आरोप छ । एकपटक उनले ‘त्यो केटी त बलात्कार गर्न पनि सारै कुरुप छ” भनेर टिप्पणी गरेको कुराले चर्चा पाएको थियो ।

समर्थकहरुले भने ब्राजिलको मुहार फेर्न उनी नै चाहिने जिकिर गरेका छन् ।

ब्राजिलमा वामपन्थी वर्कर्स पार्टीले सन् २००३ देखि २०१६ सम्म शासन गरेको थियो । पछिल्लो दुई वर्ष भने परम्परावादी मिसेल टेमरले देशको शासन सम्हालेका थिए ।

६३ वर्षीय बोल्सोनारोले सामाजिक उदारवादी पार्टी (पिएसएल)को नेतृत्व गर्दछन् । यो समूहले सामाजिक रुढिवाद र बजारमुखी नीतिको वकालत गर्दछ । उनलाई कतिपयले ब्राजिलको ट्रम्प पनि भन्ने गर्दछन् ।

विगतमा सैनिक सत्ता भएको बेला आम नरसंहार मच्चाउने र जनतालाई मार्न उनको भूमिका भएको समेत आरोप लाग्दै आएको छ ।
कतिपय पोल र आमरुपमा पनि बोल्सोनारोको जीत हुनेमा कसैले कल्पना गरेका थिएनन् । वामपन्थी फर्नान्डोका समर्थकहरुले त आफ्नो जीत सुनिश्चित भएको भन्दै खुशियाली समेत मनाइरहेको बिबिसीले जनाएको छ । तर निर्वाचनको परिणाम आएपछि भने सबै झस्केका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नव निर्वाचत बोल्सोनारोलाई बधाई दिएका छन् ।

यसैबीच एम्नेष्टि इन्टरनेशनलले भने बोल्सोनारोको विजय ब्राजिलका जनजाति समुदाय, समलैंगिक, काला जातिलगायतका लागि ठूलो खतरा भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्