आयोजनाका गाडीहरु अन्यत्र प्रयोग भइरहेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं, कार्तिक १२ ।

मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भइरहेको विषयमा केही मिडियामा आएको समाचारप्रति खानेपानी मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोजनाका गाडीहरु अन्यत्र प्रयोग भएको भन्ने समाचार आएपछि मन्त्रालयले प्रयोग भएका ती गाडीहरु फर्काउने तयारी गरेको छ ।

मन्त्रालयको सोमबार बसेको बैठकले मेलम्चीको नाउँमा रहेका गाडीहरु फर्काउने प्रक्रियामा मन्त्रालय अघि बढ्ने भएको छ। राजनीतिक र अन्य प्रभावका आधारमा मेलम्ची खानेपानी आयोजनाका गाडी अन्यत्र प्रयोग भएको सन्दर्भमा खानेपानी मन्त्री बीना मगरले चासो दिएकी थिइन् ।

समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी प्रयोग भएका छन् ।

बा १ झ ८९९५ को ल्याण्ड क्रुजर र बा १ झ ८७५९ नं।को प्राडो जिप प्रधानमन्त्री कार्यालयमा प्रयोग भएका हुन् भने बा ८ च ६७६० नं. को प्राडो जिप सहरी विकास मन्त्रालयमा रहेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणमा प्रयोग भईरहेको मेलम्ची आयोजनाको बा १झ ८७६३ नं. को प्राडो गाडी र बा १ झ ५१८४ नम्बरको टोयोटा कोरोला कार समेत फिर्ता ल्याउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै शहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं। को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया मन्त्रालयले अघि बढाउन लागेको छ ।

खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भइरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाएकी छन् ।

कमेन्ट गर्नुहोस्