कांग्रेस महासमिति बैठकमा आउनेले बासको खर्च आफैं बेहोर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आउने नेताहरुले आफ्नो बसोबासको खर्च आफैले ब्यहोर्नुपर्ने भएको छ ।

नेपाली कांग्रेसले आगामी मंसीर ५ गतेदेखि काठमाडौंमा सुरू हुने महासमिति बैठकमा भाग लिन आउने सदस्यलाई आवासको सुविधा नदिने निर्णय गरेको हो ।

कांग्रेसले बैठक अवधिभर चिया, नास्ता र बिहानको खाना भने दिने भएको छ ।

यसअघि महासमिति बैठक र महाधिवेशनमा कांग्रेसले आफ्ना सदस्यहरूलाई आवासको सुविधा प्रदान गर्दै आएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आवासको सुविधा प्राप्त भए पनि अधिकांश सदस्यहरूले त्यसको प्रयोग नगर्ने भएकाले यसपाली हटाइएको बताए।

पौडेलका अनुसार, अधिकांश महासमिति सदस्यहरूको घर नै यहीँ छ। घर नभए पनि दाजुभाई नातागोता र साथिभाई छन्। त्यसैले पहिले पनि उनीहरू तोकिएको आवासमा जाँदैन थिए।

देशभर कांग्रेसका महासमिति सदस्य १२ सय जना छन्। उनीहरूको लागि आवासको व्यवस्था गर्नु नपरे बैठकको झण्डै आधा खर्च जोगिने उनले बताए।

कमेन्ट गर्नुहोस्