कञ्चनपुरमा श्रीमानले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै श्रीमतीद्वारा मुद्दा दर्ता

भीमदत्तनगर, बलात्कारको रापले तातेको कञ्चनपुरको सदरमुकाममा एकजना महिलाले श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी छिन् ।

भीमदत्त नगरपालिका–२ भासी निवासी मञ्जु जोशीले श्रीमान डम्बर जोशीविरुद्ध करणी मुद्दा दिएकी हुन् ।

यौन सम्पर्कका लागि श्रीमतीको समेत इच्छा हुनुपर्नेमा श्रीमानले जबर्जस्ती करणी गरेको र सो का कारण गर्भपतन पनि भएको बताउँदै मञ्जुले मुद्दा दर्ता गरेकी हिुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, डेढ वर्षअघि भागी विवाह गरेका उनीहरुबीच यौन सम्बन्धकै विषयमा मनमुटाव शुरु भएको थियो । गर्भवती भएकी मञ्जुले गत साता मात्रै महाकाली अञ्चल अस्पतालमा गर्भपतन गराएकी थिइन ।

प्रहरीले जबर्जस्ती करणी मुद्दामा श्रीमान डम्बरलाई पक्राउ गरेको छ । थप अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्