जर्मन चान्सलर एन्जृला मर्केलद्वारा पार्टी नेतृत्व परित्याग गर्ने घोषणा

जर्मन चान्सलर एन्जेला मार्केलले पार्टी नेतृत्व परित्याग गर्ने घोषणा गरेकी छिन् ।

उनी विगत १८ वर्षदेखि क्रिश्चियन डेमोक्र्याट यूनियनको नेतृत्व सम्हाल्दै आएकी छिन् ।

आफू निकटका अधिकारीहरुसँगको आउँदो डिसेम्बरमा हुने पार्टीको सम्मेलनमा चुनावी दौडमा आफू नलाग्ने बताएको सिएनएनले जनाएको छ । तर २००५ देखि बहाल रहेको जर्मन चान्सलरको पद भने नछोड्ने उनले स्पष्ट पारेकी छिन् ।

सिएनएनले मर्केलको यो घोषणालाई उनको शक्ति कमजोर र लोकप्रियता गुमाउँदै गएको अर्थमा टिप्पणी गरेको छ ।

यूरोपियन देशहरुमा मर्केललाई विशेष क्षमता भएको महिला नेतृको रुपमा चिनिन्छ । पछिल्लो समयमा भने उनको आलोचना समेत बढेको छ । मर्केलले लामो समयदेखि नेतृत्व लिएपनि उल्लेख्य काम गर्न नसकेको आलोचना बढेसँगै पार्टीमाथि नै अविश्वास बढेको टिप्पणी हुँदै आएको थियो ।

कतिपयले अहिलेको उनको घोषणालाई पार्टीभित्रको शक्ति संघर्षको रुपमा समेत लिएका छन् ।

डिसेम्बरमा हुने पार्टी सम्मेलनमा उनले उम्मेदवारी नदिएको अवस्थामा उनी नेतृत्वमा नरहने स्वतः स्पष्ट छ । तर यो अवस्थामा सरकारको नेतृत्वमा रहीरहने उनको चाहना पुरा होला या नहोला त्यो भने भविष्यका घटनाले बताउने छ । कतिपयले मर्केल पार्टी नेतृत्वमा नरहने अवस्थामा सरकारको समेत नेतृत्व गर्न नसक्ने टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्