बाँकेमा एचअाइभी संक्रमितकाे संख्या १ हजार बढी

बाँके- जिल्लामा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन्। अहिलेको नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ जना एचआइभी एड्सबाट सङ्क्रमित छन्। आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्म बाँकेमा ९६२ एचआइभी सङ्क्रमित थिए।

सो रोगका कारण अहिलेसम्म बाँकेमा १२८ जनाको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरि तिवारीले जानकारी दिए।

कार्यालयका अनुसार आव २०७४/७५ मा ५ सय ६५ पुरुष, ४ सय ३४ महिला र १३ तेस्रोलिङ्गी गरी जम्मा एक हजार १२ जना सङ्क्रमित छन्। एआरटी खानेको सङ्ख्या ४ सय ६० जना रहेको उनले बताए। गत वर्ष जिल्लामा १३ तेस्रो लिङ्गी, ५ सय ३५ पुरुष र ४ सय १४ महिलालाई सङ्क्रमण भएको थियो। 

जिल्लामा २६ बालबालिकामा समेत सङ्क्रमण भएको तथ्याङ्कले देखाएको छ। असुरक्षित यौनसम्पर्क र सुइ, सिरिञ्जबाट लागूऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा छन्।

कामका लागि विदेश गएकाहरुबाट पनि एचआइभी सरेको भेटिएको छ। समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कतिपय सङ्क्रमित एआरटी सेवाबाट वञ्चित भइरहेका छन्। 
एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही सङ्क्रमितले सेवा लिन नमानेको तिवारीको भनाइ छ।

विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी÷एड्सको सङ्क्रमण देखिएकाले सिमानामा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको छ। विभिन्न गैरसरकारी संस्थामार्फत लागुऔषध प्रयोगकर्तालाई पनि सचेत पार्ने र औषधि नियमित सेवन गराउने अभियान चलाइएको साबिकको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। -रासस

कमेन्ट गर्नुहोस्